Wednesday, October 15, 2014

भयावह भविष्यको संकेत

अराजकले छुट पाइरहे राष्ट्रघात र पृथकतावादले उद्योगको रूप लिनेछ 
छैटौं किराँती राजा हुमती नै हुन् भनेर कर्कप्याट्रिकले लेखे। हुमतीको पालामा पाण्डवहरू वनवास गएको कुरा राइटले लेखे। उनले हुमतीपुत्र जितेदस्तीले पाण्डवको पक्षमा महाभारत युद्ध लडेको उल्लेख गरेका छन्। भगवान् श्रीकृष्णको प्रमुख भूमिका रहेको युद्धमा लड्नेका सन्तान कौरवपथमा कसरी हिँड्लान्? कसरी धर्म-संस्कृतिविरुद्ध उभिएलान्? प्रश्‍न गम्भीर छ। 
 
भूमध्यसागर क्षेत्रमा बोलिने मोबायट् भाषाको किरियट शब्द अपभ्रंश भएर किराँत भएको हुनसक्छ भन्ने कुतर्क गर्नेहरू पनि छन्। बेबीलोनमा बसेका किराँतीहरू इशापूर्व २४०० तिर मेसोपोटामियातिर लागे भनेर बुद्धिविनोद गर्नेहरू पनि छन्। यो तर्क कुनै बेला बर्मिंघम पनि ब्राह्मण गाउँ थियो भनेजस्तै हास्यास्पद हुनेछ। 
 
स्वामी शंकरानन्दकृत ऋग्वेदिक कल्चर ग्रन्थको भूमिकामा प्रसिद्ध समाजशास्त्री डा. भूपेन्द्रनाथ गुप्ताले आर्य भनेको शालीन, सभ्य र भद्रताको धनी भनेका छन्। आर्य जात होइन, चरित्र हो। स्वभाव र संस्कार हो। कसैले म आर्य होइन भन्छ भने किन टाउको दुखाउने? 
 
किराँतहरू मंगोलियाबाट आएका शरणार्थी होइनन् भन्ने पुस्तकमा डा. प्रपन्नाचार्यले किराँतलाई आर्य भनेका छन्। शिवपूजक भनेका छन्। किरातेश्वर महादेव किराती राजतन्त्रकालमा बनेको मानिन्छ। २९ पुस्ता शासन गरे किरातीले। उनीहरू अनार्थ (असभ्य) र असंस्कृत होइनन्। कुलंघार त जहाँ पनि हुन्छन्।

केही अमर्यादित व्यक्तिका कारण जातिलाई नै अन्यथा ठान्न मिल्छ? विदेशी पैसामा पालिएकाहरूले सबैलाई एउटै डोकोमा पोको पारेर धनी हुने धोको राख्छ भने त्यस्तासँग होमा हो मिलाउनु विवेक ठहरिन्छ कि मूर्खता? 
सन् ६३७ मा नेपाल आएका चिनियाँ विद्वान् हुयेन साङले नेपाली असभ्य भए पनि कलामा निपुण जाति भनेका छन्। काठमाडौं उपत्यकाका प्रस्तरकला र काष्ठकला देखेर उनी प्रभावित भएको हुनसक्छ। एक्काईसौं शताब्दीमा त वाईसीएल शैलीमा हुलदंगा गर्नेहरू नेपाली राजनीतिका खेलाडी छन् भने झन्डै १५ सय वर्ष पहिले सभ्यताको मापदण्ड थाहा नपाउनु आश्‍चर्य होइन। तर एउटा रमाइलो प्रश्नको उत्तर सोच्नैपर्छ- नेपालको संविधानसभा र दलका गतिविधि हेर्न कुनै दिन हुयेन साङ पुनर्जन्म लिएर नेपाल आए भने के भन्लान्? हाँस्लान् कि रोलान्? 
 
सन् १९३१ को सेप्टेम्बर १८ मा जापानको मुन्चुरियामा हमला गर्‍यो। आश्चर्यको कुरा, मन्चुरियामै मजदुरी गरेर बसेका जापानी नै सैनिक रहेछन्। काठमाडौं, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका सहर-बजारमा बस्ने कतिपय विदेशी आप्रवासीले भोलि त्यसै गरे भने के गर्ने? आजै सोच्नु पर्छ कि पर्दैन? 
 
चेतनाभ्रष्ट, बौद्धिकदास र अवसरवादी बन्न योग्यता चाहिँदैन। इतिहासको अपव्याख्या गर्न इतिहासको अध्ययन आवश्यक पर्दैन। पृथ्वीनारायण शाहको सालिक ढालेर लखन थापालाई महामानव बनाउन खोजे केही हठीहरूले। पृथ्वीनारायण र लखन थापाको तुलनै हुन सक्दैन। पोखरावासीले पृथ्वीचोक नै भन्छन् आज पनि। जनताले सम्मान गरेको भए पृथ्वीचोक नै लखनचोक बन्थ्यो। किन बनेन लखनचोक? पृथ्वीनारायणको सालिक भत्काउने मूर्खहरू किन सोच विचार गर्दैनन्? महेन्द्रनगरलाई जनताले भीमदत्तनगर भन्दैनन्, किन? जनताले नै स्वीकार नगरेपछि बन्दुक देखाएर शासन चल्दैन? 
 
अमरसिंह थापालाई अंग्रेजहरूले करोडौंको चल-अचल सम्पत्ति दिने प्रलोभन देखाएर नालापानी युद्ध परित्याग गर्न आग्रह गरे। उनले स्वाभिमानपूवर्क जवाफ दिए- म बाघको सन्तान हुँ। सिनो खाने स्याल नसम्झ। नेपाली राजनीतिमा अमरसिंह जस्ता चार पाँचजना मात्र सपूत भइदिएको भए के विदेशीले यसरी हेप्न सक्थे? 
 
कालु पाँडेको मृत्युपछि उनका छोरा वंशराजलाई पृथ्वीनारायण शाहले पुत्रवत् माया दिएर पाले। ठूलो भएपछि वंशराजले तनहुँ, लमजुङ, पौवागढी, मकवानपुरलगायतका मोर्चामा युद्ध गरे। 
 
आज राज्यकोषबाट पालिएका अधिकांश कपुतले राष्ट्रको होइन, अरूकै सेवा गरेका छन्। दोहोरो तलब खाइरहेका छन्। किन पाल्ने राष्ट्रघातीलाई? 
कोलोनियलिजम एन्ड नेसनलिजम इन एसियन सिनेमा पुस्तकमा श्रीलंकाका अन्वेषक विमल दिशानायकेले चीन, जापान, श्रीलंका, थाइल्यान्ड र इन्डोनेसियाका राष्ट्रवादीले गरेको संघर्षलाई सिनेमाकृत गरिएको प्रसंग उठाएका छन्। 
 
डेभिड रकले अर्जेन्टिनाको राष्ट्रवादीका बारेमा लेखेका द नेसनलिस्ट मुभमेन्ट जस्ता रोचक पुस्तक अरू पनि छन्। नेपालका अधिकांश इतिहासकार किन राष्ट्रवादका कुरा लेख्न डराउँछन्? किन सत्यको खोजी गर्दैनन्? किन पत्रकारहरूले दसवर्षे द्वन्द्वमा अपराध गर्नेहरूलाई लोकतन्त्रवादी (?) ठानिरहेका छन्? लेखकहरू किन परास्त जस्ता छन्? किन दबेका छन्? 
 
जुडास इस्कारियतलाई बाइबलले नै गद्दार (टे्रटर) भनेको छ। (म्याथ्यु २६:२३-२५) बेनेडिक्ट आर्नोल्डलाई अमेरिकीहरू गद्दार भन्छन्। सन्-यत-सेनलाई धोका दिने वाङ् जिङ् वेइ गद्दार मानिन्छ। राजा र जनतालाई धोका दिने लेण्डुप दोर्जे गद्दारै हुन्। उनले भारतलाई सिक्किम बुझाए। 
 
सन् १७५७ मा रबर्ट क्लाइभसँग मिलेर मिरजाफरले गद्दारी गरे। परराष्ट्र र रक्षा भारतलाई बुझाएमा राजगद्दी सुरक्षित रहनेछ भन्‍ने भारतीय प्रस्ताव स्वीकार गरेको भए २०६४ सालमै राजा ज्ञानेन्द्र गद्दार ठहरिने थिए। तर उनको शासन ढल्ने थिएन। उनले राजगद्दी त्यागे, राष्ट्रिय स्वाभिमानसँग सम्झौता गरेनन्। यो उचित थियो कि अनुचित? 
 
राजतन्त्रको विकल्प भन्दै गणतन्त्र ल्याइयो। (आएको होइन, ल्याइयो।) यसमा राष्ट्र र राष्ट्रियता कति सुरक्षित छ? संविधान मात्र होइन, हाम्रो राष्ट्रिय पहिचान नै अनिश्चित बनिरहेको अवस्थामा केही यन्त्रमानवहरू प्रायोजित नारामा रमाइरहेका छन्। यो विवेक प्रदर्शन हो कि मूर्ख-प्रतियोगिता? अभिमान मात्र हो कि स्वाभिमान? 
 
लुई (चौधौं) फ्रान्सका सम्राट् थिए। १८ हजार कर्मचारी र सेवक बस्थे उनको दरबारमा। १९ सय घोडा र दुई सय वटा बग्गी थिए। प्रसिद्ध साहित्यकार भोल्टेयरद्वारा लिखित द एज अफ लुई फोर्टिन्थ ग्रन्थमा सम्राट्ले फ्रान्सलाई आधुनिक बनाउन र देशदेशान्तरमा सुवास फैलाउन अतुल्य योगदान गरेको उल्लेख छ। 
 
त्यस्तै निरक्षर चंगेज खाँले मंगोल कला, साहित्य, संगीत र संस्कृति रक्षा गर्न ठूलो काम गरेको इगोर द रासेविल्टस्ले लेखे। असल काम गर्नेहरू अमर हुन्छन्। आजका नेपाली नेता, शासक र प्रशासकहरूलाई कसरी सम्झना गर्ने? प्रश्‍न अनुत्तरित छ। 
 
योग्यहरूलाई राष्ट्रले नै संरक्षण गर्नुपर्छ। यो हाम्रो ऐतिहासिक दायित्व र परम्परा हो। कालु पाँडेको मृत्युपछि उनका छोरा वंशराजलाई पृथ्वीनारायण शाहले पुत्रवत् माया दिएर पाले। ठूलो भएपछि वंशराजले तनहुँ, लमजुङ, पौवागढी, मकवानपुरलगायतका मोर्चामा युद्ध गरे। 
 
आज राज्यकोषबाट पालिएका अधिकांश कपुतले राष्ट्रको होइन, अरूकै सेवा गरेका छन्। दोहोरो तलब खाइरहेका छन्। किन पाल्ने राष्ट्रघातीलाई? र, कहिलेसम्म पालेर संक्रमणकाललाई मलजल गर्ने? 
 
एउटा जमाना थियो। मिश्र (इजिप्ट) देशमा धर्माधिकारीहरूले जे बोल्छन्, त्यही कानुन हुन्थ्यो। उलेमा भन्थे शासक मण्डललाई। नेपालमा कांग्रेस, एमाले, माओवादी र कथित मधेसवादी आजको उलेमा बनेका छन्। उनीहरूले बोलेपछि कानुन बन्छ। विधिको शासन छैन। 
 
दलका ठेउके कार्यकर्ताले संसदीय सुनुवाइ भन्दै प्रधानन्यायाधीश हुने व्यक्तिलाई केरकार गर्छ। संसद्मा टिके सांसदको बाहुल्य छ। जित्नेमध्ये धेरैले पैसाको बलमा जितेका छन्। जो शक्तिमा छ, उसैलाई देवीदेवता मान्ने जनता दोषी हुन् कि पद्धति? यो प्रश्नमा बहस हुनैपर्छ। 
 
साहित्यकार बर्नाड शाले ७० वर्षको उमेरमा नोबेल पुरस्कार पाए। कक्षा पाँचसम्म मात्र पढेका थिए उनले। इमानदारीपूर्वक राष्ट्र र समाजको सेवा गर्ने धेरै मार्ग छन्। बर्नाड शा हुन् वा महाकवि लक्ष्मीप्रसाद देवकोटा, होमर हुन् वा कालिदास, लु स्युन हुन् वा सेली, सबैको योगदान अविस्मरणीय छ। ५० वर्षसम्म राजनीतिको नाममा राष्ट्र लुट्नेहरूभन्दा ती स्रष्टा महान् छन्, जसले राष्ट्रको नाम देदिप्यमान बनाए। 
 
विदेशीको पैसामा आत्मसमर्पण गरेर राष्ट्र टुक्र्याउँछौं भन्नेहरूलाई छुट दिने हो भने नेपालमा राष्ट्रघात, पृथकतावाद र अराजकताले उद्योगको रूप लिनेछ। दुर्भाग्यको कुरा, दलका पदाधिकारीहरू तथा राष्ट्रका उच्च आसनमा बस्नेहरू नै विदेशी शक्तिका दास भएका कारण नेपाली राष्ट्रियता रसातलमा पुगेको छ। यही अवस्था रहिरहने हो भने एक दिन इतिहासमा लेखिनेछ- नेपालमा बाह्य शक्तिकै षड्यन्त्रमा कथित परिवर्तन भए। 
 
राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै राजालाई पूर्वराजा भन्न थालियो। नेपालले आज स्वतन्त्रता गुमाएको छ र त्यहाँका नेपाली अब पूर्व नेपाली बनेका छन्। त्यो देश विश्‍व मानचित्रबाट हराएको छ, जो कहिल्यै पराधीन थिएन। 
- See more at: http://www.annapurnapost.com/News.aspx/story/783#sthash.JKzYAgfz.dpuf

No comments:

Post a Comment